नेभिगेशन
सोमबार, असोज १९, २०८३

नेसन्स लिगमा नर्वेमाथि पोर्चुगलको जित

काठमाण्डौ – गोन्कालो रामोसको निर्णायक गोलको मद्दतमा पोर्चुगलले युइएफए नेसन्स लिगमा नर्वेलाई दुई–एक गोलले पराजित गरेको छ ।

घरेलु मैदान इस्टाडियो डो ड्रागाओमा भएको खेलमा पोर्चुगलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।

खेलको ३६औँ मिनेटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर नर्वेको अग्रता धेरैबेर टिक्न सकेन । त्यसको दुई मिनेटपछि नै जोआओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे ।

उनले नुनो मेन्डेसको थ्रो–इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनारबाट पहिलो टचमै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने केही राम्रा अवसर सिर्जना गरे । तर खेलको ७९औँ मिनेटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो ।

जोआओ फेलिक्सले मिलाइदिएको बललाई गोन्कालो रामोसले उत्कृष्ट ढंगले गोलमा परिणत गरेपछि पोर्चुगलले दुई–एक गोलको अग्रता बनाएको थियो । त्यसपछि नर्वेले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको अन्त्यतिर फ्रान्सिस्को कोन्सेइकाओले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्‍यो ।

यो जितसँगै पोर्चुगलले नेसन्स लिगको समूह ‘ए ४’ मा आफ्नो विजयी यात्रा कायम राखेको छ । रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रामोसले लगातार प्रभावशाली प्रदर्शन गर्दै पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दाबेदारीसमेत बलियो बनाएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद