नेभिगेशन
मंगलबार, असोज २०, २०८३

फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै

काठमाण्डौ – फ्लाई दुबईको जहाजमा ककपिटभित्रै पाईलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका सहचालकको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरु भएको छ ।

अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त प्रतिआतंकवाद टोलीले ओमानी नागरिक हमाम अल–हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरिरहेको अल जजिराले जनाएको छ ।

अल–हमामीले झण्डै एक दशकअघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोपसमेत लागेको छ ।

यद्यपि, यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् । अल–हमामीले गएको बुधवार दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको एफजेड १०७३ उडानमा ककपिटभित्र कप्तानमाथि बञ्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

यात्रु र चालक दलका सदस्यले उनलाई नियन्त्रणमा लिएपछि रिजर्भ पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए । विमानमा चालकदल सहित १७४ यात्रु थिए ।

घटनालाई संयुक्त अरब इमिरेट्सका सरकारी अभियोजकले ‘आतंकवादी कार्यको प्रयास’ भनेका छन् । घटनापछि इजरायलको विमान सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ । 

प्रकाशित मिति:
थप विश्व