नेभिगेशन
मंगलबार, असोज २०, २०८३

ताइवानी राष्ट्रपतिका छोराको जासुसी गरेको आरोपमा ‘चिनियाँ विदेशी एजेन्ट’ पक्राउ

अमेरिकी सङ्घीय सुरक्षा निकाय एफबीआईले ताइवानी राष्ट्रपतिका छोराको जासुसी गरेको आरोपमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ विदेशी एजेन्टलाई पक्राउ गरेको छ ।

‘हेदर’ का रूपमा पनि चिनिने वानयिङ झाङलाई चीन जाने योजनाअनुसार प्रस्थान गर्नुअघि हिजो पक्राउ गरिएको क्यालिफोर्नियाको मध्य जिल्लाका लागि अमेरिकी सहायक महान्यायाधिवक्ता बिल एसालीले सामाजिका सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिनुभएको छ ।

अधिकारीहरूले क्यालिफोर्नियाको अर्भाइन निवासी ३४ वर्षीया झाङमाथि दर्ता नभएको विदेशी एजेन्टका रूपमा काम गरेको आरोप लगाएका छन् ।

एफबीआईका अनुसार झाङले ताइवानी राष्ट्रपति विलियम लाई चिङ–तेका छोराको निगरानी गरेकी थिइन् । एफबीआईले झाङको जासुसीमा परेका भनिएका व्यक्तिको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेन, तर पछि एउटा समाचार लेख साझा गर्दै ती व्यक्ति लाई टिङ–यु भएको जानकारी दियो ।

अमेरिकी न्याय विभागले जनाएअनुसार झाङले चिनियाँ अधिकारीहरूको निर्देशनमा सन् २०२५ मा सिएटलको यात्रा गरेकी थिइन् । उनले ताइवानी नेताका छोरा र तिनको परिवारका तस्वीर, भिडियो तथा गाडीको नम्बर प्लेटसम्बन्धी जानकारी चीन पठाएकी थिइन् ।

अमेरिकी सहायक महान्यायाधिवक्ता एसालीका अनुसार झाङलाई आज लस एन्जलसको सङ्घीय अदालतमा उपस्थित गराइँदैछ ।

प्रकाशित मिति:
थप विश्व