नेभिगेशन
मंगलबार, असोज २०, २०८३

अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बमवर्षक विमान हटायाे

अमेरिकी वायुसेनाले बेलायती सैन्य अड्डा आरएएफ फेयरफोर्डबाट सबै बमवर्षक विमान हटाएको छ । यो सैन्य अड्डामा गएको सेप्टेम्बर २७ मा भएको एउटा घटनाबारे आतङ्कवाद–विरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनाथ सबै अमेरिकी बमवर्षक विमानलाई तिनका मूल अखडामा फिर्ता पठाइएको पुष्टि गरेका छन् । यद्यपि अमेरिकाले ती विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन ।

अमेरिकाको यो निर्णय सेप्टेम्बर २७ मा घटेको घटनापछि आएको हो; त्यस दिन ग्लोस्टरशायरमा रहेको आरएएफ फेयरफोर्ड हवाई अड्डा नजिकै तीन वटा शङ्कास्पद गाडी देखिएको खबरपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

शुरूमा यस घटनाको सम्बन्धमा ‘आतङ्कवादसम्बन्धी कसुर’ को आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । यद्यपि पछि उनीहरूलाई धरौटीमा रिहा गरिएको थियो । त्यसपछि पक्राउ परेका छैटौँ व्यक्ति—बेलायती–इरानी नागरिक पनि पछि धरौटीमा रिहा भएका थिए ।

फेयरफोर्ड हवाई अड्डामा भएको घटनाको प्रतिक्रिया स्वरूप अमेरिकाले आफ्ना बमवर्षक विमानहरू फिर्ता लैजाने निर्णय गरेको कुरालाई बेलायत सरकारको प्रशासनिक केन्द्र ‘ह्वाइटहल’ का स्रोतहरूले अस्वीकार गरेका छैनन् ।

प्रतिवेदनहरूका अनुसार यो निर्णय राजनीतिक तहमा नभई सैन्य तथा परिचालन तहमा लिइएको थियो । अमेरिकी सेनाले यस निर्णयबारे आफ्ना बेलायती समकक्षीहरूलाई जानकारी गराएको थियो । यद्यपि बेलायतको रक्षा मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको ‘बलियो सङ्केत’ देखिएको बताउनुभएको थियो । यद्यपि उहाँले यसको पुष्टि गर्ने कुनै विस्तृत जानकारी भने दिनुभएन ।

इरानले यस घटनामा आफ्नो कुनै पनि संलग्नतालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

प्रकाशित मिति:
थप विश्व