नेभिगेशन
मंगलबार, असोज २०, २०८३

बागमतीदेखि पश्चिमका धेरैजसो ठाउँमा वर्षा : आज र भोलि पनि पानी पर्ने

काठमाण्डौ – गएराति बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा १ सय मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, जाजरकोटमा ९९ मिलिमिटर, दाङमा ९० मिलिमिटर, बर्दियामा ६८ मिलिमिटर वर्षा भएको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । साथै पहाडी भागका केही ठाउँमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना  रहेको महाशाखाले जनाएको  छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पनि पानी पर्नेछ । तर लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

गएराति ठूलो पानी परेका क्षेत्रका स–साना नदीमा जलसतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन बाहिरिदैगर्दा काठमाण्डौलगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि पानी परेको हो । 

प्रकाशित मिति:
थप समाज