नेभिगेशन
मंगलबार, असोज २०, २०८३

तेल आपूर्तिमा दबाब : मौज्दात न्यून रहेको साउदीको तेल कम्पनी आराम्कोको चेतावनी

जी–७ का देशहरुले आफ्नो मौज्दातबाट थप कच्चा तेल र डिजल बजारमा पठाउने सहमति जनाएको केही दिनपछि साउदीको तेल कम्पनी आराम्कोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात न्यून अवस्थामा रहेको बताउनुभएको छ ।

आपूर्तिमा दबाब बढेसँगै उहाँले अभावको जोखिम कायमै रहेको बताउनुभएको छ । साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले बेलायतमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा अहिले विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेको बताउनुभयो ।

नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौज्दात १० प्रतिशतभन्दा कम रहेको उल्लेख गर्नुभएको छ । उहाँले आपत्कालीन मौज्दातले अबको जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन तेल आपूर्तिको समस्या समाधान गर्न नसक्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

ऊर्जा क्षेत्रका नेता सहभागी दुई दिने सम्मेलनमा विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्त सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेकोबारे बहस भएको छ ।

अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न चिन्ता कम गर्न जी–७ का देशहरुले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) सँगको समन्वयमा तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए ।

अमेरिकासहितको जी–७ को यो  निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिनुभएको थियो ।


 

प्रकाशित मिति:
थप विश्व