नेभिगेशन
मंगलबार, असोज २०, २०८३

देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने, पर्सिदेखि मौसम क्रमिक सुधार हुने

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ ।

हिजो भन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भागमा मध्यम तथा एक/दुई ठाउँमा ठूलो पानी परेको छ । भोलिसम्म एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ ।

आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा  तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि क्रमिक रुपमा मौसम सुधार हुने अनुमान छ ।

गएराति बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ ।

दैलेख, कैलाली, बर्दिया, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेकाले यो क्षेत्र भई बहने स–साना नदीमा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वामान महाशाखाले आग्रह गरेको छ । 


 

प्रकाशित मिति:
थप समाज