नेभिगेशन
मंगलबार, असोज २०, २०८३

पाकिस्तानले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीमा माछा मार्ने जाली जडान गर्‍याे

ड्रोन आक्रमणबाट बच्न पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको हाङ्गु शहरका प्रहरीले एउटा अनौठो र कम लागतको उपाय अपनाएका छन् । उनीहरूले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीहरूमा माछा मार्ने जालीहरू जडान गरेका हुन् ।

प्रहरीले जाँच चौकीका छाना र बाहिरी पर्खालहरूका बीचमा केही मिटर माथि माछा मार्ने जालीहरू टाँगेर आकाशमा एउटा किसिमको छाना तयार पारेका समाचार संस्था अलजजीराले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार माछा मार्नेहरूले आफ्नो काममा प्रयोग गर्ने जालीसँग मिल्दोजुल्दो र बनावटमा सरल यो जाली पहिलो पटक दुई महिनाअघि जडान गरिएको थियो ।

प्रहरी अधिकारी फैयाज खानका अनुसार त्यसयता हाङ्गु शहरको ‘सर्की पियाला’ मा कुनै पनि ड्रोन आक्रमण भएको छैन ।

जाँच चौकीमाथि कुनै ड्रोन आइपुग्यो भने त्यो जालीमा अल्झिएर निष्क्रिय वा नियन्त्रणमा पर्न सक्ने सम्भावना हुने प्रहरी अधिकारी खानले बताउनुभयो ।

‘यदि ड्रोन नअल्झिकन जालीभन्दा माथि नै विस्फोट भए पनि त्यसबाट हुने क्षति निकै कम हुने अपेक्षा गरिन्छ; किनभने विस्फोटबाट निस्कने धेरैजसो छर्रा र टुक्राहरू प्रहरी तैनाथ रहेको जमिनमा सीधै खस्नुको सट्टा हावामै छरिनेछन्’, उहाँले भन्नुभयो ।

हाङ्गु जिल्लाका प्रहरी अधिकारी तारिक हबिबका अनुसार एउटा सामान्य जाँच चौकीलाई झन्डै १ हजार ४३५ अमेरिकी डलर अर्थात् २ लाख २० हजार रुपैयाँमा यस्ता जालीहरूले ढाक्न सकिन्छ ।

‘ड्रोन र क्वाडकोप्टर आक्रमणको प्रभाव कम गर्न प्रहरीले जोखिमपूर्ण प्रहरी चौकी र जाँच चाैकीहरूमा जालीको व्यवस्था लागू गरेको छ’, हबिबले भन्नुभयो । उहाँले जिल्लाभरका प्रहरी चौकीहरूमा थप जालीहरू जडान गरिरहेको पनि बताउनुभयो ।

पछिल्ला वर्षहरूमा पाकिस्तानमा मुख्यतया प्रहरी र सेनालाई लक्षित गरी सशस्त्र आक्रमणहरू बढेका छन् । यस्ता धेरैजसो आक्रमणको जिम्मेवारी ‘तहरिक–ए–तालिबान’ (टीटीपी) ले लिएको छ । टीटीपीले पाकिस्तानमा तालिबान शैलीको र धार्मिक मान्यतामा आधारित सरकार स्थापनाका लागि सङ्घर्ष गरिरहेको दाबी गर्छ ।

प्रकाशित मिति:
थप विश्व