नेभिगेशन
मंगलबार, असोज २०, २०८३

प्रस्तावित राजदूतकाे सुनुवाइ दशैँअघि नै

काठमाण्डाै – संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो । केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाइ दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि कुटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाइ छिटो टुङ्ग्याउनुपर्नेमा समिति सहमत भएको हो ।

छलफलका क्रममा सांसदहरूले सुनुवाइ प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औँल्याउँदै समितिले सुनुवाइलाई रचनात्मक बनाउने निर्णय गरेको छ । कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति बाेधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रस्तावित १३ जना राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन् । २ वटा उजुरी सबैविरुद्ध परेको छ भने ५ वटा १–१ जना व्यक्ति तोकेर परेको छ ।

समितिले २६, २७ र २८ गते सुनुवाइ गर्ने र २९ गते प्रतिवेदन लेखन तथा सिफारिशको काम गर्ने कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो ।

समितिको आजकाे बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी खोलिएको र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिश हुनुभएको छ । यस्तै बेलायतका लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिश गरिएको छ । यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेशियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिश हुनुभएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति