नेभिगेशन
मंगलबार, असोज २०, २०८३

हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीकाे कप्तानी

काठमाण्डाै – भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छिन् ।

३७ वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका ३ वटै फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन् । कप्तानी छाडे पनि खेललाई निरन्तरता दिने उनले बताएकी छिन् ।

काैरको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

जापानमा भएको २०औँ संस्करणको एशियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जालमार्फत कप्तानी छाडेको बताएकी हुन् । उनकै कप्तानीमा भारतले १९औँ संस्करणकाे एशियाली खेलकुदमा पनि स्वर्ण जितेकाे थियाे ।

सन् २०१६ मा जिम्मेवारी सम्हालेपछि उनी एक दशकभन्दा धेरै समयसम्म टी–२० टोलीको कप्तान रहिन् । त्यसपछि उनले सन् २०२२ मा एकदिवसीय र टेस्ट टोलीको कप्तानी सम्हालिन् ।

सन् २००९ मा भारतका लागि टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेकी कौरको कप्तानका रूपमा उत्कृष्ट करियर रहेको छ ।

सन् २०२२ देखि उपकप्तान रहँदै आएकी स्मृति मन्धना कप्तानको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदारका रूपमा रहेकी छिन् ।

कौरले भारतका लागि ५ टेस्ट, ५१ एकदिवसीय र १५५ टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गरेकी छिन् । उनी १५० भन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टोलीको कप्तानी गर्ने पहिलो (पुरुष वा महिला) खेलाडी पनि हुन् ।

प्रकाशित मिति:
थप खेलकुद