नेभिगेशन
बिहीबार, असोज २२, २०८३

अमेरिकामा ‘एआई’ को सट्टा ‘एसआई’ शब्दको प्रयोग शुरू

प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् ‘एआई’ को सट्टा अमेरिकामा ‘सुपर इन्टेलिजेन्स’ ‘एसआई’ प्रयोग हुन थालेको छ ।

अमेरिकी न्याय मन्त्रालयलगायत अन्य सङ्घीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र सञ्चारमा अब ‘एआई’ को सट्टा ‘एसआई’ शब्द प्रयोग गर्न थालेका हुन् ।

न्याय मन्त्रालयले मातहतका सबै निकायलाई पनि ‘एआई’ को सट्टा ‘एसआई’ शब्द प्रयोग गर्न कडा निर्देशन दिएको एनबीसी न्युजले जनाएको छ । मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्रअनुसार अबदेखि अदालतका कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक सञ्चारमा ‘एआई’ को सट्टा आधिकारिक रूपमा ‘एसआई’ शब्दको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर २९ मा हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभावस्वरूप यो नयाँ अभ्यास शुरू भएको हो ।

प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ । यस कदमले विश्वभर भइरहेको प्रविधिको विकासक्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सिर्जना गरेको छ ।

प्रकाशित मिति:
थप विश्व