नेभिगेशन
बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन

गगनलाई समर्थन गर्ने भन्दै राठाैरद्वारा उम्मेदवारी फिर्ता

काठमाण्डाै – काठमाण्डाैमा चलिरहेकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता किशोरसिंह राठौरले सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।

पार्टीभित्रको असहज परिस्थिति र बृहत्तर हितलाई मध्यनजर गर्दै आफू सभापतिको दौडबाट पछि हटेर वर्तमान सभापति गगनकुमार थापालाई समर्थन गर्ने निर्णय लिएको राठाैरले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

राठौरले उम्मेदवारी फिर्ता लिनुको पछाडि कुनै ‘बार्गेनिङ’ नभएको दाबी गर्नुभएको छ । आफ्नो ४० वर्ष लामो राजनीतिक अनुभव सुनाउँदै उहाँले कांग्रेसभित्र मौलाएको अराजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अहिले असाध्यै अप्ठ्यारो मोडमा छ । पार्टीलाई एक ढिक्का बनाउन र बलियो बनाउन हामीले मिलेर जानुपर्ने आवश्यकता देखेर मैले यो निर्णय लिएको हुँ । मैले कुनै पदको बार्गेनिङका लागि होइन, बरु पार्टीको आन्तरिक कलह अन्त्य र न्यायपूर्ण प्रणाली स्थापना गर्नुपर्ने देखेर गगनजीलाई सहयोग गर्ने निर्णय गरेको हुँ ।’

राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक रूपमा लिँदै नेता राठाैरले युवा पुस्तालाई कांग्रेसको गौरवमय इतिहास, संस्कार र मर्यादित राजनीतिक शैलीबारे बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति