नेभिगेशन
बिहीबार, असोज २२, २०८३

तोकिएकोभन्दा बढी गाडीभाडा लिनेलाई कारबाही हुने

काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी गाडी भाडा नलिन आग्रह गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने गाडीलार्ई कारबाही हुनेछ । यस वर्षको दशैँका लागि भोलिदेखि यात्रुबाहक गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भइसकेको छ ।

यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो ।

महासङ्घले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाण्डौको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ । महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।

दशैँको भीडलाई व्यवस्थापन गर्दै असोज २५ गते घटस्थापनादेखि आउँदो कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाण्डौ सडकखण्डमा ट्रेलरलगायत ठूला गाडी चलाउन रोक लगाइने छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका गाडीको आवतजावतमा भने कुनै रोक लाग्ने छैन ।

त्यसैगरी, घटस्थापनादेखि आउँदो कात्तिक १० गतेसम्म यात्रुवाहक गाडीका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । 

प्रकाशित मिति:
थप समाज