नेभिगेशन
बिहीबार, असोज २२, २०८३

एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार (फोटो फिचर)

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ ।

आउँदाे कात्तिक ९ गते मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेँलो, रातो, सुन्तला र सेतो रङ्गका कुर्सीहरू जडान गरिएका छन् । ब्याटरले प्रहार गरेकाे बलले द्रूत गतिमा बाउन्ड्री रेखा पार गर्ने किसिमको आउटफिल्ड तयार भइरहेको प्राविधिक टोलीले जनाएको छ ।

tu-cricket-ground-1791439162.jpg

स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि स्वचालित लन मोवर मेशिन चलाएर घाँसको लम्बाइ बराबर पार्न र रोलरमार्फत पिचको कडापन बढाउन जुटिरहेका छन् । आउटफिल्डमा हरियो दुबोलाई सन्तुलित पानी र मलखाद दिएर स्यहार्ने काम भइरहेकाे छ, यसले गर्दा खेलाडीहरूलाई बाउन्ड्री लाइन नजिकै डाइभ लगाउँदा घाइते हुने जोखिम निकै न्यून हुनेछ ।

मैदान परिसरमा सिभिल इन्जिनियरिङ र निर्माणको काम पनि उत्तिकै द्रूत गतिमा अघि बढिरहेको छ । कामदारहरूले बालुवा, गिट्टी र रातो इँटाको प्रयोग गरी नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग र मञ्चको जग उठाइरहेका छन् ।

त्यस्तै फलामका मजबुत ट्रस र बिमहरूमा प्राविधिकहरूले वेल्डिङ गर्दै अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रसारण क्यामेरा प्लेटफर्म र विशिष्ट अतिथि लाउन्जको निर्माण कार्यलाई पूर्णता दिइरहेका छन् ।

खेल मैदान परिसरमा सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर र सुरक्षा जाँच चौकीहरू रहनेछन् । दर्शकका लागि डिजिटल टिकट अनिवार्य गरिनेछ जसबाट उनीहरूले आफ्नो निर्धारित गेट र सिट नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् ।

साथै गाडी पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ ।

विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ ।

प्रतियोगिता अवधिभर दर्शकको अत्यधिक चाप हुने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् ।

tu-cricket-ground-6-1791439162.jpg

tu-cricket-ground-1-1791439159.jpg

tu-cricket-ground-4-1791439160.jpg

tu-cricket-ground-5-1791439161.jpg

tu-cricket-ground-3--1791439160.jpg

1-1791439159.jpg

– न्युज एजेन्सी नेपाल

तस्वीरहरू : नेपाल फोटो सर्भिस (एनपीएस)

प्रकाशित मिति:
थप खेलकुद