नेभिगेशन
बिहीबार, असोज २२, २०८३

‘एल निनो’ प्रभावकै बीच नेपालमा मनसुन अवधिमा औसतसरह वर्षा

काठमाण्डाै – प्रशान्त महासागरमा विकसित ‘एल निनो’ प्रणालीका कारण नेपालमा यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसतसरह वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुन शुरू हुनुअघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो । तर विभागको पछिल्लो विवरणअनुसार मनसुन प्रवेश गरेको जुन १९ तारिखदेखि अहिलेसम्म झन्डै ९५ प्रतिशत वर्षा भइसकेको छ ।

सामान्यतया नेपालमा मनसुनभरिमा १ हजार ५०० मिलिमिटर पानी पर्ने गरेकोमा यस पटक १ हजार ३२६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

मौसमविद्हरूका अनुसार मधेश प्रदेशमा औसतभन्दा केही कम वर्षा हुँदा गण्डकी प्रदेश, बागमतीका काठमाण्डाै र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा भने औसतभन्दा धेरै पानी परेको छ । जुम्ला, जोमसोम र काठमाण्डाै विमानस्थलमा धेरै वर्षा मापन गरिएको छ भने धनगढी, नेपालगञ्ज, जनकपुर र विराटनगरलगायतका क्षेत्रमा औसतभन्दा कम वर्षा भएको छ ।

अहिले देशका धेरैजसो ठाउँबाट मनसुन बाहिरिइसकेको छ । केही भूभागमा अझै पनि पश्चिमी वायु र स्थानीय प्रणालीको सामान्य प्रभाव बाँकी रहेकोले अझ पनि वर्षा थपिन सक्छ ।

त्रिवि जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एशियासम्म आइपुग्न समय लागेकाले मनसुनको समयमा यसको असर नेपालमा सोचेजस्तो नदेखिएको हो । यसबाहेक स्थानीय मौसमी प्रणाली र मनसुनको अन्त्यतिर आएको न्यून चापीय प्रणालीले पनि वर्षा गराउन सहयोग पुर्‍याएको छ ।

आउँदाे नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण नेपालमा यसपालि हिउँदे वर्षा कम हुन सक्ने जोखिम छ । लगातार तीन वर्षदेखि घट्दै गएको हिउँदे वर्षाले यस वर्ष कृषि र खाद्य सुरक्षामा थप चुनौती थप्न सक्ने विज्ञहरूको चिन्ता छ ।

प्रकाशित मिति:
थप समाज