नेभिगेशन
बिहीबार, असोज २२, २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको मतदान अझै शुरू भएन

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको मतदान अझै शुरू भएको छैन ।

बिहान १० बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो १ बजेका लागि सारिएको थियो । यस्तै अर्को सूचना निकालेर दिउँसो साढे २ बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो ।

निर्वाचन समितिले मतपत्र सबै आइनपुगेकोले मतदान रोकिएको जानकारी गराएको छ । अहिले उम्मेदवार र कार्यकर्ताहरू धमाधम भोट मागिरहेका छन् ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ ।

१५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै खुलातर्फका उपसभापतिका उम्मेदवारहरू डा. मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सहमहामन्त्रीमा दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी लक्ष्मी परियारले उम्मेदवारी फिर्ता लनुभएको छ ।

मतदानअघि नै तीन जना उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाण्डाै उपत्यका महिला सदस्यतर्फ प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति:
थप राजनीति