नेभिगेशन
बिहीबार, असोज २२, २०८३

जापानमा रहेकादेखि परीक्षा नै नदिएकासम्मलाई लाइसेन्स वितरण, ७ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डाै – वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैरकानूनी रूपमा गाडी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको खुलासा भएको छ ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुखसहित ७ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको विज्ञप्तिअनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा २०७७ साल मङ्सिर २५ गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिका नाममा समेत लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो । त्यस्तै अनुत्तीर्ण भएकाहरूका नतिजा सच्याएर र प्रयोगात्मक परीक्षामा सहभागी नै नभएकासहित १३ जनालाई किर्ते कागजातका आधारमा लाइसेन्स उपलब्ध गराइएको अनुसन्धानबाट खुल्न आएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृतहरू तुल्सीराम अधिकारी र राजीव अर्यालविरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी डिल्लीनारायण पाण्डेय, इन्स्पेक्टर गणेश ज्ञवाली र सई हुमानन्द खनालविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गर्दै आराेपपत्र दायर भएकाे छ ।

प्रकाशित मिति:
थप समाज