नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ ।

एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ । सेमिकन्डक्टर, सर्भर तथा अन्य उपकरणको व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ६७ प्रतिशतले बढेको छ ।

डब्ल्यूटीओकी प्रमुख एनगोजी ओकोन्जो–इवेआलाले अवरोधका बाबजुद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ । यद्यपि, सबै देशले एआईबाट सिर्जना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ ।

मध्यपूर्वको द्वन्द्वले ऊर्जा, मल तथा यातायात बजारमा अवरोध सिर्जना गरे पनि आपूर्ति शृङ्खलाले त्यसअनुसार आफूलाई अनुकूलन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस वर्ष एआई पूर्वाधारमा विश्वव्यापी खर्च कम्तीमा ३० प्रतिशतले बढ्ने अनुमान छ । क्षेत्रगत रूपमा सन् २०२६ मा एसियाको वस्तु निर्यात ९.९ प्रतिशतले बढ्ने अनुमान छ ।

उत्तर अमेरिकाको निर्यात वृद्धि ५.७ प्रतिशत, युरोपको ०.१ प्रतिशतले घट्ने र मध्यपूर्वको निर्यात १७.२ प्रतिशतले सङ्कुचित हुने अनुमान व्यापार संगठनको छ । विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) यसवर्ष २.६ प्रतिशत र आउँदो वर्ष २.९ प्रतिशतले बढ्ने प्रक्षेपण छ । 

प्रकाशित मिति:
थप विश्व