नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा यात्रुको चहलपहल

काठमाण्डौ – दशैँ मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ शुरु भएसँगै बसपार्कमा बिहानैदेखि यात्रुको चहलपहल बढेको छ । टिकट लिन यात्रुहरू बिहानैदेखि गोगंबु लगायतका बसपार्क पुगेका छन् ।

Dashain-Tcket-_KTM--1791519900.jpg
प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ । अपरिचित व्यक्ति वा अनाधिकृत एजेन्टबाट नभई बसपार्कभित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत र चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि यात्रुहरुलाई आग्रह गरेको छ ।

Dashain-ticket-line--1791520220.jpg
साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ । टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ । सरकारले तोकेकोभन्दा बढी भाडा नलिन पनि महासंघले व्यवसायीहरुलाई आग्रह गरेको छ ।

bauspark--ticket-dashain--1791520459.jpg
सुरक्षा दृष्टिकोणले महिला यात्रुहरूलाई चालकको छेउको क्याबिनेमा नराखी चालकभन्दा पछाडिको सुरक्षित सिटमा बस्ने व्यवस्था मिलाउन यातायात व्यवसायी महासंघले गाडी चालकलाई आग्रह गरेको छ ।

लामो दूरीका गाडीमा सुरक्षाका लागि अनिवार्य रूपमा दुई जना चालक हुनुपर्नेछ । गाडीको क्षमताभन्दा बढी यात्रु नराख्न तथा प्राविधिक अवस्था जाँच गरेर मात्रै गाडी सञ्चालन गर्न पनि सरकारले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बोकेका बाहेक अन्य मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।

यस वर्षको दशैँमा झण्डै १० लाखभन्दा बढी मानिसले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति:
थप समाज