नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

पोखरामा स्कुल बस दुर्घटना : छानबिन गर्न समिति गठन

काठमाण्डाै – कास्कीको पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ ।

दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको हो ।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएकाे छ ।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

पोखरा महानगरपालिका–२८ ओख्लेको भीरमा बिहान कालिका इङ्ग्लिश बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा १५ वर्षीया ममता तिवारी र सुवेच्छा तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय स्थानीयवासी बाबुराम तिवारी रहेका छन् । एक छात्राको परिचय खुलेको छैन ।

बसमा १९ जना रहेकामा १४ जना घाइते भएका छन् । उनीहरूको गण्डकी मेडिकल कलेज र गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज