नेभिगेशन
शनिबार, असोज २४, २०८३

भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद् नवनीतम नवी पिल्लेलाई प्रदान गरिने भएको छ ।

शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागिएको नोबेल समितिले जनाएको छ ।

पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हाे ।

पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ ।

पिल्ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्त पनि हुनुभएको थियो । उहाँले त्यो पदमा रहँदा सन् २००९ मा नेपालको पनि भ्रमण गर्नुभएको थियो ।

यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको थियो । गएको वर्ष पनि उहाँ पुरस्कारका लागि आकाङ्क्षी भएको विवरण आएको थियो । त्यस वर्ष यो पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले पाउनुभएको थियो ।

यस वर्षको नोबेल पुरस्कारअन्तर्गत सोमवार चिकित्साशास्त्र, मङ्गलवार भौतिकशास्त्र, बुधवार रसायनशास्त्र र हिजो साहित्यतर्फका विजेताको नाम घोषणा भएको थियो । अब आउँदो साेमवार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ ।

विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।

प्रकाशित मिति:
थप विश्व