नेभिगेशन
बिहीबार, असोज २९, २०८३

रास्वपाद्वारा पालिका चुनाव २०८३ को उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ सार्वजनिक गरेको छ ।

पार्टीले उम्मेदवार छनोटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो । पार्टीले सार्वजनिक गरेको रूपरेखाअनुसार उम्मेदवार छनोटका लागि चारवटा मुख्य आधारहरू तय गरिएका छन् ।

जसमा लिडरसिप एकेडेमीको प्रशिक्षणलाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी अर्थात् राजनीतिक निकटता तथा पृष्ठभूमीलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई ४० प्रतिशत भाराङ्क छुट्याइएको छ ।

त्यस्तै, पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका मेयर, उपमेयर तथा वडा अध्यक्षका साथै महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य पदका हकमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । 

यदि कुनै असाधारण परिस्थिति सिर्जना भएर निर्धारित विधिबाहिर गई उम्मेदवार छनोट गर्नुपरेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई–तिहाइ बहुमतबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

यस प्रक्रियामा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूप अनिवार्य रहनेछ ।

प्रकाशित मिति:
थप राजनीति