नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

इजिप्टले साउदी अरबलाई ‘आवश्यक’ सबै सहयोग उपलब्ध गराउने

यमनका हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण गरिरहेका बेला इजिप्टले साउदी अरबको सुरक्षा र स्थिरताको रक्षाका लागि ‘आवश्यक तथा सम्भव सहयोग’ प्रदान गर्न आफू तयार रहेको बताएको छ ।

साउदी अरबका स्रोत–साधन, भौगोलिक अखण्डता र इस्लामका पवित्र स्थलहरूको रक्षाका लागि इजिप्ट ‘पूर्णरूपमा’ उसको साथमा उभिएको राष्ट्रपति अब्देल फताह अल–सिसीको अध्यक्षतामा रहेको राष्ट्रिय रक्षा परिषद्ले जनाएको छ ।

इजिप्टका राष्ट्रपतिले साउदी अरबले अनुराेध गरेमा उसकाे रक्षा गर्न आफ्नाे देश तयार रहेकाे बताउनुभएकाे छ ।

राष्ट्रपति कार्यालयले तनाव कम गर्न कूटनीतिक प्रयासहरू अझ तीव्र पार्ने पनि बताएको समाचार संस्था अलजजीराले जनाएको छ ।

इरान निकट मानिने हुथी विद्रोही समूहले पछिल्ला दिनहरूमा रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल र साउदी अरबको सरकारी तेल कम्पनी ‘साउदी आरामको’ मा आक्रमण गरेका छन् । यमनमा युद्धविराम भङ्ग भएपछि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारका साउदी–समर्थित फौज र हुथी विद्रोहीहरूबीच पुनः द्वन्द्व चर्किएको छ ।

इजिप्टका राष्ट्रपति सिसीले साउदी राजा सलमान र युवराज मोहम्मद बिन सलमानको निर्देशनअनुसार काम गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यमनमा द्वन्द्व पुनः चर्किएपछि गएको महिना साउदी युवराज सलमानले सिसीसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप विश्व