नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा

काठमाण्डौ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले उपत्यकाका तीन रूटमा हिजो र आज गरी दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ ।

रूट नम्बर–१ मा नक्सालबाट शुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किने गरी तोकिएको छ ।

यस्तै, रूट नम्बर–२ अन्तर्गत नक्सालबाट बस चल्न शुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।

रूट नम्बर–३ अन्तर्गत नक्सालबाट शुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किने  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निःशुल्क बस सेवा आज टीकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो साढे ३ बजेदेखि तोकिएका रूटमा सञ्चालन हुनेछ । निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायात कम हुँदा समस्यामा परेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको नेपाल प्रहरीले जनाएको छ ।

police-1792544399.jpg
यस्तै दशैँको अवसरमा सशस्त्र प्रहरी बल नेपालले काठमाण्डौ उपत्यकामा अस्तिदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले काठमाण्डौ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहजताका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको हो ।

यी निःशुल्क बस सेवा आज दशैँको टीकाको दिन पनि सञ्चालन हुँदैछन् । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म यी बस चल्छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई सेवा दिने गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


 

प्रकाशित मिति:
थप समाज