नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

तीन जिल्लामा आगलागी : एक जनाको ज्यान गयो, दुई घर जले

काठमाण्डौ - झापा, बाँके र खोटाङमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने दुई घर जलेर नष्ट भएका छन् । 

बाँकेको स्टिल कम्पनीमा भएको आगलागीबाट एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको हो । आज बिहान करिब साढे एक बजे फर्नेस आयलको ट्याङ्कीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण छ। 

त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–२, रामचोकमा रहेको एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको ज्यान गएको हो । बिहीबार बिहान करिब सवा ४ बजे भएको आगलागीमा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको ज्यान गएको हो । क्यान्टिनमा काम गर्दै आएका तामाङको शव आगो निभाएपछि फेला परेको प्रहरीले जनाएको छ। 

यता, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६, मङ्गलटारमा विद्युत् फल्ट भएर आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । गए राति करिब नौ बजे स्थानीय कृष्णकुमार राईको घरमा आगलागी भएको हो . आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाँडा वर्तन, खाद्यान्न, महत्त्वपूर्ण कागजात र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको जनाइएको छ। 

प्रकाशित मिति:
थप समाज