नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

एनपीएलको उद्घाटनमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी ५ बजे हुने खेलसँगै एनपीएलको तेस्रो संस्करणको औपचारिक रुपमा शुरु हुनेछ ।

लुम्बिनीको नेतृत्व रोहित पौडेलले र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् । यसपटक लुम्बिनी लायन्सका विदेशी खेलाडीहरुमा श्रीलङ्काका निरोसन डिक्वेला, अष्ट्रेलियाका डार्सी सर्ट, नामिबियाका रुबेन ट्रम्पलमान, बंगलादेशका सामिम हुसेन र अमेरिकाका शेडली भान शाल्कविक छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडीमा इङ्ग्ल्यान्डका सैफ जैब, न्युजिल्यान्डका स्कट कुग्गेलाइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड र फेबियन एलेन छन् ।

दोस्रो संस्करणमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेका थिए । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टोलीहरू लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।

एनपीएलको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुने क्यानले जनाएको छ । उद्घाटन खेलका लागि टिकट बुकिङ खुला भएको ३० मिनेटभित्रै सबै टिकटहरू बिक्री भएका छन् ।

 प्रतियोगीतामा ३२ वटा खेलहरू हुनेछन् । ८ वटा टोली सहभागी एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद