नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

विश्वप्रकाशकाे प्रश्न – ‘पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो ?’

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मी आफैँले आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपसभापति शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार क्षेत्र एकजुट भएर प्रतिवाद गर्न नसकेको भन्दै प्रश्न उठाउनुभएको हो । उहाँले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो भन्दै सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्नुभयो ।

शर्माले सञ्चारमाध्यममाथि डर र त्रास सिर्जना हुँदा त्यसको प्रभाव समग्र लोकतन्त्रमै पर्ने उल्लेख गर्नुभयाे । लोकतन्त्रको अवस्था चुनावबाट मात्रै नभई प्रेसले निर्भयतापूर्वक लेख्न पाउने अवस्थाबाट मापन हुने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू आफैँ पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने हो ? मिडियाको अघिल्तिर मोटर तेर्स्याएपछि मात्रै भयको अनुभूति गर्ने ? संसारको कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने आधार त्यहाँ हुने चुनाव मात्र होइन । कुनै पनि देशमा लोकतन्त्र छ या छैन भन्ने कुराको सबैभन्दा बलियो आधार र मानक के हो भने त्यो देशको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् या पाउँदैनन् भन्ने हो ।’

वरिष्ठ उपसभापति शर्माले सञ्चारगृहमाथि गाडी तेर्स्याइएकाे घटनाको छानबिनबारे पनि प्रश्न उठाउनुभयो । यस घटनाको छानबिन गर्न निर्देशन दिइए पनि अहिलेसम्म त्यसको तथ्य र प्रतिवेदन सार्वजनिक नभएको भन्दै उहाँले सरकार तथा सम्बन्धित पक्षको जवाफदेहितामाथि असन्तुष्टि जनाउनुभयाे ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति