नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

मध्यावधि चुनावमा बहुमत गुमाएपनि इरान युद्धबारे ट्रम्पको पुरानै अडान

अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसदका दुवै सदनमा बहुमत गुमाएपछि इरानसँगको युद्ध प्रमुख बहसको विषय बनेको छ ।

चुनावमा पार्टीको पराजयमा इरान युद्धको ठूलो भूमिका रहेको स्वीकार गर्दै ट्रम्पले आवश्यक परे फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले इरान युद्धका कारण छोटो अवधिका लागि पेट्रोलको मूल्य बढेको र त्यसले रिपब्लिकन पार्टीलाई चुनावमा असर पारेको स्वीकार गर्नुभयो ।.

अमेरिकामा अस्ति मंगलबार सम्पन्न मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत प्राप्त गरेको हो । यससँगै ट्रम्प प्रशासनले आउँदो २ वर्ष विधायिकी प्रक्रिया र बजेटसम्बन्धी निर्णयमा थप राजनीतिक चुनौती सामना गर्नुपर्नेछ ।

यद्यपि राष्ट्रपतिसँग विदेश नीति सञ्चालन र सैन्य कमान्डसम्बन्धी व्यापक संवैधानिक अधिकार कायम रहनेछ । ट्रम्पले डेमोक्र्याटहरूसँग सहकार्य गर्न सकिने संकेत दिनुभएको थियो । तर आफूले अस्वीकार गर्ने विधेयक पारित गर्न खोजिए राष्ट्रपतिको भिटो अधिकार प्रयोग गर्ने चेतावनी समेत उहाँले दिनुभयो ।

इरान युद्ध लम्बिँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य, विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा थप प्रभाव पर्न सक्ने चिन्ता छ ।

यसैबीच, अमेरिकी चुनावमा मिसिसिपी र अलास्काका दुई सिनेट सिटको परिणाम अन्तिम रूपमा टुंगिन बाँकी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार डेमोक्रयाट्सले रिपब्लिकन पार्टीका सुरक्षित गढ मानिएका टेक्ससमा ३८ र कन्सासमा ९४ वर्षपछि डेमोक्र्याट उम्मेदवारहरू सिनेटमा निर्वाचित हुँदै ऐतिहासिक जित निकाल्न सफल भएका हुन् । 

प्रकाशित मिति:
थप विश्व