नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

म्याग्दीको राहुघाट सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया अघि बढ्यो

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौर विद्युत् गृह जोड्ने ६ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले सुरुङ मार्ग निर्माणबाट प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आउँदो मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार निवेदन सङ्कलन पछि मूल्याङ्कन गरी सरकारको मापदण्ड र प्रक्रिया पूरा गरी नियमसङ्गत ढङ्गले क्षतिपूर्ति वितरण हुनेछ ।

आयोजनाले यसअघि कम्पनका कारण बस्न नमिल्ने भएका झण्डै ३० घरपरिवारलाई अस्थायी टहरा बनाउनका लागि न्यूनतम १ लाख ७५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले स्थलगत निरीक्षणका क्रममा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो ।

रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले प्रतिवेदनप्रति अध्ययनमा सहभागी निकायकै जिम्मेवार व्यक्तिले अपनत्व नलिँदा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताउनुभयो । भौतिक संरचना निर्माण सकिएको राहुघाट जलविद्युत् आयोजनाले गएको असोज पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको छ ।

भारतीय आयात निर्यात (एक्जिम)बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण गरिएको हो । 

प्रकाशित मिति:
थप समाज