नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यसहित अध्यादेश ल्यायो : महासङ्घ

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले प्रेस काउन्सिल ऐन २०४८ संशोधनका लागि सरकारले ल्याएको अध्यादेश सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आज काठमाण्डाैमा आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयक : आमसञ्चार कानून र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष शर्माले सरकारले जारी गरेको प्रेस काउन्सिल अध्यादेश स्वीकृत भएमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रासम्बन्धी संवैधानिक अधिकार कुण्ठित हुने तर्कसमेत गर्नुभयो ।

शर्माले अध्यादेशका विषयवस्तुमा प्रेस काउन्सिल नेपालको सुझाव लिइएको भन्ने काउन्सिल अध्यक्ष उमेश श्रेष्ठको भनाइप्रति समेत प्रश्न उठाउनुभयो । अध्यादेशले मिडिया क्षेत्रलाई थप नियन्त्रण गर्ने अवस्था सिर्जना गरेको भन्दै उहाँले प्रेस काउन्सिल र पत्रकार महासङ्घबीच समेत यस विषयमा मतभिन्नता देखिएको बताउनुभयो ।

अध्यक्ष शर्माले समाचारको स्रोत पुष्टि गर्ने नाममा पत्रकार पक्राउ गर्ने र फौजदारी मुद्दा लगाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध पत्रकार महासङ्घसहित सबै सञ्चार सम्बद्ध सङ्घ–संस्थाले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति:
थप समाज