नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

एनपीएलमा काठमाण्डौको लगातार दोस्रो जित, लुम्बिनीले जनकपुरलाई हरायो

काठमाण्डौ  – काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि रङ्गशालामा हिजो बेलुकी विराटनगर किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै काठमाण्डौले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो ।

विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डौले ९ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । दोस्रो विकेटका लागि डेभिड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाण्डौले सहज जित निकालेको हो ।

वार्नरले ४४ र वसिस्टो २३ रनमा अविजित रहे । वार्नरले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । वसिस्टोले २४ बलमा ३ चौका हाने । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ३ बलमा सबै विकेट गुमाएको थियो ।

अहिलेको सिजनमा यो सबैभन्दा कम रन हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ८७ रनमा अलआउट भएको थियो । विराटनगरका एन्जेलो म्याथ्युज र रुपेश सिंहले ३९ रनको साझेदारी गरे । बसिर अहमदले १० रन जोडे । लोकेश बमले ६, सेहान जयसूर्याले ५ र आन्द्रे रसेलले ३ रन बनाए ।

काठमाण्डौका लागि सन्तोष यादवले ३, करण केसी र सहानले समान २, जहानदाद खान, साहब आलम र देव शाहले समान १ विकेट लिए । ४ अंक बनाएपछि राम्रो रनरेटका आधारमा काठमाण्डौ अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

काठमाण्डौसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान ४ अंक छ । लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ । ३ वटै खेलमा हार व्यहोरेको पोखरा तालिकाको पुछारमा छ । चितवनको ३ अंक छ ।

हिजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा थप बलियो बनेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

एनपीएलमा आज २ खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल बेलुकी ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । ८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद