नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

यस वर्षको मनसुनमा समग्र वर्षा सरदर

काठमाण्डौ - यस वर्षको मनसुन अवधिमा नेपालभर समग्र वर्षा सरदरकै हाराहारीमा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुन २०८३ को अवस्था प्रतिवेदन अनुसार यस वर्ष मनसुन अवधिमा कुल १ हजार ३२० दशमलव ३ मिलिमिटर वर्षा मापन भएको छ । जुन सरदर वर्षाको १०२ प्रतिशत हो । १२१ वटा वर्षा मापन केन्द्रको विवरण अनुसार मनसुन अवधिमा नेपालमा हुने औसत वर्षा एक हजार २९४ दशमलव १ मिलिमिटर हो ।

मौसम विज्ञान विभागले एलनिनोको प्रभावका कारण मनसुनी वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण गरे पनि समग्रमा सरदर वर्षा भएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै कर्णालीमा औसतको ११७ प्रतिशत वर्षा भएको छ । सबैभन्दा कम कोशी प्रदेशमा ८५ दशमलव ८ प्रतिशत वर्षा भएको छ । मधेशमा पनि औसतभन्दा कम अर्थात् ८८ दशमलव ५ प्रतिशत वर्षा हुँदा बाँकी प्रदेशमा भने औसतभन्दा बढी वर्षा भएको छ ।

यस वर्ष असार ५ गते भित्रिएको मनसुन ११८ दिन रहेर असोज २८ गते पूर्ण रूपमा बाहिरिएको थियो । यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट जनधनको ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाहेक अन्य मनसुनजन्य विपद्बाट मात्रै मनसुन अवधिमा १०३ जनाको ज्यान गएको छ । १४ जना बेपत्ता छन् । यो भन्दा बाहेक भोटेकोशी बाढीका कारण एक हजार ४६४ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै ५ हजार २८५ जना बेपत्ता छन् ।  

प्रकाशित मिति:
थप समाज