नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

कोप–३१ मा भाग लिन परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्कीए प्रस्थान

काठमाण्डौ - संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टर्कीए प्रस्थान गरेको छ ।

टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म सम्मेलन हुँदैछ । परराष्ट्रमन्त्री खनालले उद्घाटन सत्रलाई नोभेम्बर ९ मा सम्बोधन गर्नुको साथै नोभेम्बर ११ र १२ को उच्चस्तरीय शिखर बैठकमा भाग लिने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र अन्य उच्च अधिकारीसहित ९ जना रहेका छन् ।

टर्कीएमा नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा पर्वतीय एजेन्डा र हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत हुनेछ ।  यस पटकको कोप बैठकमा नेपालले जलवायु न्याय, पर्वतीय पारिस्थितिकी प्रणालीको रक्षा र जलवायु वित्तलाई प्राथमिकताका साथ उठाउँदै छ ।

जलवायु परिवर्तनमा कुनै योगदान नरहे पनि हिमाली क्षेत्रमा परेको असर, हिमनदी पग्लेको समस्या र हालै भोटेकोसीमा आएको विनाशकारी बाढीजस्ता विपद्को क्षतिपूर्ति पाउनुपर्ने अडान नेपालको रहनेछ ।

नेपालले हानि तथा नोक्सानी कोषबाट ऋण नभई सहज र सोझै अनुदान सहयोग पाउनुपर्ने र कार्बन उत्सर्जन घटाउन धनी राष्ट्रहरूले गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने माग अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा राख्नेछ । 

प्रकाशित मिति:
थप समाज