नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

एनपीएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यति बेला नेपालमा छन् । 

अस्ट्रेलियाका डेभिड वार्नरदेखि दक्षिण अफ्रिकाका डेभिड मिलरसम्मका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तर्राष्ट्रिय स्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । 

एनपीएल खेल्न नेपाल आएका विदेशी खेलाडीले यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आतिथ्यको प्रशंसा गरिरहेका छन् । उनीहरूले नेपालमा बिताएका क्षण र घुमफिरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । 

विश्वभर ठूलो सङ्ख्यामा समर्थक र दर्शक भएका खेलाडीले नेपालका पर्यटकीय गन्तव्यबारे सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्दा विदेशी पर्यटकको नेपालप्रतिको चासो बढ्ने र पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गर्नुभएको थियो । 

सगरमाथाको प्रत्यक्ष दृश्यबाट प्रभावित उहाँले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव सार्वजनिक गर्दै नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, 'शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो । आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो । तस्वीर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन् । यो संसार कति विशाल र अद्भुत छ भन्ने महशुस गराउने क्षणमध्ये यो पनि एक हो ।' 

वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि प्रशंसा गर्नुभएको छ । नेपाल प्राकृतिक सुन्दरताले मात्र नभई यहाँका मानिसको सरलता, व्यवहार र आत्मीयताले पनि विशेष रहेको उहाँको भनाइ छ । पहिलो पटक नेपाल आउनुभएका वार्नर एनपीएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहनुभएको छ । दुई खेल खेलिसक्नुभएका उहाँले ब्याटिङमा प्रभावशाली प्रदर्शन गर्नुभएको छ । 

अस्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वार्नरको उपस्थितिले एनपीएलप्रति अन्तर्राष्ट्रिय क्रिकेट प्रेमीको चासोसमेत बढाएको छ । त्यस्तै, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र यहाँको क्रिकेट वातावरणबाट प्रभावित हुनुभएको छ । 

पहिलो पटक नेपाल आउनुभएका मिलरले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताउनुभएको छ । 'नेपाल साँच्चै सुन्दर ठाउँ हो । यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन् । यहाँको सुन्दरता र वातावरण अविश्वसनीय छ । 

आगामी दुई/तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु', मिलरले नेपाल आइपुगेलगत्तै भन्नुभएको थियो । उहाँले नेपालको क्रिकेट विकास र यहाँका समर्थकको उत्साहको पनि प्रशंसा गर्नुभएको छ । मिलरले नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश भएको उल्लेख गर्दै नेपालीको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताउनुभएको छ । 

'नेपाल क्रिकेटमा तीव्र रूपमा अघि बढिरहेको देश हो । यहाँका मानिसहरू क्रिकेटलाई निकै माया गर्छन् । उनीहरूको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जा साँच्चै प्रशंसनीय छ । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल देख्छु', उहाँले भन्नुभएको छ । मिलर यस सिजनको एनपीएलमा कर्णाली याक्सबाट खेलिरहनुभएको छ । उहाँले प्रतियोगितामा आफ्नो पहिलो खेलमै अविजित ९३ रनको पारी खेल्दै क्षमता प्रदर्शन गरिसक्नुभएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गर्नुभएका मिलरको प्रदर्शनले नेपाली खेलाडी र दर्शकको ध्यानसमेत खिचेको छ । यसै गरी, बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनुभएको छ । उहाँका पोस्टले नेपालबारे अन्तर्राष्ट्रिय क्रिकेट समर्थकमाझ थप चासो सिर्जना गर्न सहयोग पुर्‍याएको छ । 

एनपीएलमा सहभागी विदेशी खेलाडीको गतिविधि क्रिकेट मैदानमा मात्र सीमित छैन । उनीहरूले नेपालको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई नजिकबाट नियाल्ने र आफ्ना अनुभव सामाजिक सञ्जालमार्फत विश्वभरका समर्थकमाझ पुर्‍याउने अवसर पाएका छन् । यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति:
थप विशेष