नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

जाइकाले वीपी राजमार्ग पुनर्निर्माणको काम थाल्यो

काठमाण्डौ - बाढी र पहिरोका कारण क्षतिग्रस्त वीपी राजमार्गको पुनः निर्माण अन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि काम शुरु गरेको छ । 

सिन्धुलीको बर्खे खोलादेखि पिप्लेसम्मको सडक खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २ अर्ब ६० करोड रुपैयाँको सम्झौता अनुसार पुनः निर्माण शुरु गरेको हो । यस अघि जाइकाले काम गर्ने खण्ड बाहेकमा नेपाल आफैले पुनर्निर्माण कामलाई तीव्रता दिइरहेकोमा जाइकाले पनि काम शुरु गरेको हो । 

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त राजमार्गलाई डेडिकेटेड डबल लेनमा निर्माण गर्ने काम भइरहेको छ । पिप्लेदेखि भकुण्डेबेँसीसम्मको खण्डमा ५२ प्रतिशत भौतिक प्रगति भइसकेको छ । यस खण्डका विभिन्न ३ वटा ठेक्का अन्तर्गत २०८४ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

डिभिजन प्रमुख सुमन योगेशका अनुसार आउँदो वर्षायाम अघि नै निर्माणाधीन खण्डहरूमा एक तहको कालोपत्रे (सिङ्गल लेयर) सक्ने गरी काम भइरहेको छ । २०८१ सालको असोजमा आएको बाढीका कारण वीपी राजमार्गको काभ्रे र सिन्धुली जोडिने २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । 

सरकारले पुनः निर्माणका लागि कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ । अहिले मर्मत गरिएका सडक र आवश्यक ठाउँमा डाइभर्सन बनाएर दुवै तर्फको यातायात सञ्चालनमा ल्याइएको छ । वर्षा वा पहिरोले सडक अवरुद्ध भएमा आधा घण्टाभित्रै खुलाउन सक्ने गरी उपकरणहरू तैनाथ राखिएको डिभिजन प्रमुख योगेशले बताउनुभयो । 

२०५३ सालदेखि जाइकाकै अनुदानमा बनेको यो राजमार्ग पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने प्रमुख छोटो मार्ग हो । 

प्रकाशित मिति:
थप समाज