नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३
काेप ३१

जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न सक्दैन : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका देशलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उहाँले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताउनुभयो ।

उहाँले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका देशले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले जलवायुजन्य क्षति तथा हानि/नोक्सानी कोषबाट नेपालले पहिलो पटक झन्डै २ करोड अमेरिकी डलर अर्थात् ३ अर्ब रुपैयाँ अनुदान प्राप्त गरेको उल्लेख गर्दै त्याे सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका देशको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ