नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

भीमफेदी दुर्घटना : धेरै यात्रु चढ्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष

काठमाण्डौ – मकवानपुरको भीमफेदीमा हिजो भएको माइक्रोबस दुर्घटनामा क्षमताभन्दा बढी यात्रु बोक्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार १४ जना यात्रु बोक्ने क्षमता रहेको माइक्रोबसमा २० जना चढेका थिए ।

लगातारको यात्राका कारण चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ । काठमाण्डौबाट सर्लाहीको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस हिजो बिहान पौने ६ बजे मकवानपुरको भीमफेदीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेको माइक्रोबस अस्ति बुधबार राति मात्रै सर्लाहीबाट यात्रु लिएर काठमाण्डौ आएको थियो ।

हिजो बिहीबार फेरि यात्रु लिएर हेटौँडा हुँदै सर्लाहीतर्फ फर्किएको थियो । छोटो समयमै लामो दूरीको यात्रा गर्नुपरेका कारण चालक निदाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

काठमाण्डौदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेकोबारे पनि थाहा पाएका थिएनन् । दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको सुन्दरपुर गाउँका रहेका छन् । मृतकमध्ये चार जना बालबालिका छन् ।

दुर्घटनामा १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । छठपर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । एकै गाउँका ठूलो सङ्ख्यामा स्थानीयले ज्यान गुमाउँदा पीडित परिवार र आफन्तजन गहिरो पीडामा छन् । 

दुर्घटनाको वास्तविक कारण र घटनाको समग्र पक्षबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले समिति गठन गरेको छ । समितिले दुर्घटनाका कारण, सम्भावित लापरबाही र अन्य प्राविधिक पक्षबारे अध्ययन गर्नेछ । दुर्घटनापछि सार्वजनिक यातायातको सुरक्षा र यात्रुको सुरक्षामा ध्यान दिन सरकारमाथि दबाब बढेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक गाडीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले शोक वक्तव्य निकाल्दै घाइतेहरूको उपचार, आवश्यक स्वास्थ्य सेवा र पीडित परिवारलाई उचित राहतको तत्काल व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । 

प्रकाशित मिति:
थप समाज