नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

बिजुलीको बिलमा गुनासोपछि सम्पर्क गर्न नुवाकोट केन्द्रको सूचना

काठमाण्डाै – गएको भदौ १० गते आएको भोटेकोशी बाढीबाट क्षति भोगेका उपभोक्ताले विद्युत् महसुल बिलमा २५ प्रतिशत जरिवाना लगाएको गुनासो गरेका छन् ।

बाढी पहिरोले सडक र पुल बगाउँदा तथा अनलाइन भुक्तानी प्रणालीसमेत अवरुद्ध हुँदा चाहेर पनि आफूहरूले समयमै महसुल तिर्न नपाएको कतिपयको गुनासो छ । यस्तो अवस्थामा आफूहरूलाई सहुलियत दिनुपर्नेमा उल्टै २५ प्रतिशत जरिवाना जोडेर बिल पठाइएको भन्दै नुवाकोटका एक उपभोक्ताले सामाजिक सञ्जालमार्फत दुखेसो व्यक्त गर्नुभएको छ ।

यो गुनासोपछि नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । ती उपभोक्ताको गुनासोपछि नुवाकोट वितरण केन्द्रले सूचना निकालेर भोटेकोशी नदीमा आएको बाढीका कारण केन्द्रअन्तर्गत झन्डै १ हजार ५०० घरधुरी प्रत्यक्ष प्रभावित भएका उल्लेख गरेको छ ।

साथै भदौ १० देखि असोज २ गतेसम्म बाढी प्रभावितसहित सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने गरी बिलबमोजिमकै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । यस्तै निःशुल्क नयाँ मिटर जडान गर्ने व्यवस्थासमेत गरिएको सूचनामा भनिएकाे छ ।

सम्बन्धित उपभोक्तालाई सम्पर्क गर्न तथा अन्य उपभोक्ताका गुनासो र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने केन्द्रले जनाएको छ ।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका कतिपय नागरिक विस्थापित भएका थिए ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत बाबु घिमिरेले बाढी प्रभावितबाट न्यूनतम शुल्कसमेत नलिएको बताउनुभएको छ । अहिले आएका गुनासोबारे थप अध्ययन गरी निर्णय विपरीत शुल्क लिएको भए फिर्ता गरिने उहाँकाे भनाइ छ ।

1-1794572165.jpg

प्रकाशित मिति:
थप समाज