नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

भीमफेदी दुर्घटना : १३ जनाकाे शव आफन्तले बुझे

काठमाण्डाै – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाकाे शव आफन्तले बुझेका छन् ।

हेटाैँडा अस्पतालमा पाेस्टमार्टमपछि आवश्यक प्रक्रिया पूरा गरी सर्लाहीकाे सन्दकपुरका १३ जनाकाे शव आफन्तले बुझेका हुन् । शवहरू तीन वटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालकको पोस्टमार्टमपछि परिवारले यसअघि नै शव बुझेर लगिसकेका थिए ।

सङ्घीय सरकारबाट मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेर मृतकका आफन्तले शव उठाउन मानेका थिएनन् ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतकका परिवार तथा आफन्तबीच छलफलपछि शव उठाउने सहमति भएकाे हाे ।

आजको छलफलबाट दुर्घटनाबारे अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षको माग पनि समावेश गर्ने, कानून बमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ । 

काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा ६ जना घाइते भएकामा तीन जनाको चितवन र ललितपुरमा उपचार भइरहेको छ । तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति:
थप समाज