नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

मुग्लिन नजिकैको घोप्टेभीर सडक बुधबारयता एकतर्फी सञ्चालन

काठमाण्डौ – चितवनको मुग्लिन नजिकैको घोप्टेभीर सडक बुधबारयता एकतर्फी सञ्चालन हुँदै आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन र कुरिनटारकोबीचमा पर्ने घोप्टेभीरको सडक एकतर्फी सञ्चालन भएको आज चार दिन भैसकेको छ ।

अझै दुईतर्फी खुल्न सकेको छैन । सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको सडक बुधवार भाइटीकाको दिन दिउँसोदेखि एकतर्फी सञ्चालन हुँदै आएको हो ।

पहिरो ठूलो भएकाले दुईतर्फी खुलाउन समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार बिहान पौने ४ बजे पहिरो खसेकोमा पन्छाएपछि एकतर्फी खुलेको थियो ।

त्यसअघि आइतबार, सोमबार र मंगलबार पनि सडक खुल्ने बन्द हुने भएको थियो । घोप्टेभीर सडकखण्ड निरन्तर एकतर्फी हुँदा मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रुले घण्टौ लगाएर पार गर्नुपर्ने बाध्यता छ ।

पहिरोको जोखिम कायमै रहेकाले यात्रामा सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ । 

प्रकाशित मिति:
थप समाज