नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

भारत–बङ्गलादेश सीमामा ५ दिनदेखि महिला अलपत्र, दुवै देशले स्वीकार गरेनन्

भारत र बङ्गलादेशको सिमानामा पर्ने ‘नो–म्यान्स ल्यान्ड’ अर्थात् शून्य रेखामा एक महिला बितेको पाँच दिनदेखि अलपत्र अवस्थामा बस्नुभएको छ ।

खुला आकाशमुनि, सुकेको खर–परालमाथि एउटा पातलो कम्बलको भरमा दिनरात बिताउन बाध्य ती महिलालाई भारत र बङ्गलादेश दुवै देशले आफ्नो नागरिक मान्न अस्वीकार गरेका छन् ।

बङ्गलादेशको जमालपुर जिल्लाको पाथरर चर सीमा क्षेत्रमा गएको मङ्गलवार बिहानदेखि ती महिला अलपत्र पर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

बङ्गलादेशको सीमा सुरक्षा बल (बीजीबी) ले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ती महिलालाई जबरजस्ती बङ्गलादेशतर्फ धकेल्न खोजेको आरोप लगाएको छ । एसएसबीले भने ती महिला बङ्गलादेशी नागरिक भएको दाबी गर्दै भारतीय भूमिमा प्रवेश गर्न रोक लगाएको छ ।

झन्डै ३० वर्षीया ती महिलाले आफ्नो नाम फुजी बेगम बताए पनि ठेगाना स्पष्ट पार्न सक्नुभएको छैन । स्थानीय पत्रकारका अनुसार उहाँको मानसिक अवस्था अस्वाभाविक देखिएको छ । उहाँले पटक–पटक फरक–फरक ठेगाना बताउने गर्नुभएको छ ।

शुरुआती दिनमा स्थानीय बासिन्दाले ती महिलालाई सुक्खा खानेकुरा र पानी पुर्‍याउने गरेका थिए । तर दुवै देशका सुरक्षाकर्मीले सीमामा कडाइ गरेपछि अहिले उहाँलाई खानेकुरा दिन र भेट्नसमेत रोक लगाइएको छ ।

घाम र चिसो सहँदै अमानवीय अवस्थामा रहेकी ती महिलाको उद्धारका लागि दुई देशका सुरक्षा अधिकारीबीच अनौपचारिक संवाद भए पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति:
थप विश्व