नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

अमेरिकामा सञ्चार प्रणालीमा खराबी आएर रद्द हुने उडानको सङ्ख्या १० हजार नाघ्यो

अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी)को सञ्चार प्रणालीमा आएको प्राविधिक खराबीका कारण रद्द हुने उडानको सङ्ख्या १० हजार नाघेको छ ।

सङ्घीय उड्ड्ययन प्रशासन (एफएएन)को आदेशपछि झण्डै चार घण्टा उडानहरू पूर्ण रूपमा रोकिएकोमा उडान रद्द हुने क्रम भने आज पनि चलेको हो । प्राविधिक समस्या समाधान भएर हवाई क्षेत्र पुनः सञ्चालनमा आइसकेको भए पनि चापका कारण कतिपय उडान अझै रद्द गर्नुपरेको बीबीसीले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार आजसम्म अमेरिकाका विमानस्थलहरूबाट हुने र बाहिरबाट आउने १० हजारभन्दा बढी उडानहरू रद्द हुँदा १५ लाखभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । निजी सञ्चार नेटवर्क अद्यावधिक गर्दा आएको प्राविधिक खराबीले यो अवस्था सिर्जना भएको हो ।

यसमा साइबर आक्रमणको कुनै सङ्केत नरहेको होमल्यान्ड सेक्युरिटी मन्त्रालयले जनाएको छ । थ्याङ्क्सगिभिङ पर्वको पूर्वसन्ध्यामा आएको यो संकटले हवाई यातायात क्षेत्र अस्तव्यस्त बनेको छ । फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार डेल्टा, अमेरिकन, युनाइटेड र साउथवेस्ट एयरलाइन्सका हजारौँ उडानहरू प्रभावित भएका छन् । उडान रद्द भएका यात्रुहरूले भने नियमानुसार टिकटको पूरा रकम फिर्ता पाउनेछन् ।

अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणपछि सबै उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ को जनवरी मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा यस्तो अवस्था सिर्जना भएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाधार आधुनिकीकरणका लागि विधेयक छिटो पारित गर्न आग्रह सहित कंग्रेससँग ३० अर्ब डलर अतिरिक्त कोष माग गर्नुभएको छ । 

प्रकाशित मिति:
थप विश्व