नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

अमेरिकामा हवाई उडानमा लगाइएको रोक हट्यो

अमेरिकाभर उडानहरूमा यसअघि लगाइएको रोक हटेको छ ।

यससँगै विमानहरूले उडान भर्न थालेका छन्, तर उडानहरूमा ढिलाइ हुने सम्भावना छ । प्राविधिक गडबडीका कारण यसअघि अमेरिकाभर राष्ट्रव्यापी हवाई उडान प्रतिबन्ध (ग्राउन्ड स्टप) गरिएको थियो ।

अमेरिकी यातायात मन्त्री शन डफीले प्राविधिक अवरोध हटेसँगै देशभरका उडान फेरि फुकुवा गरीएको जानकारी दिएको बीबीसीले जनाएको छ । अवरोध हटेपनि उडान सहज हुन समय लाग्ने देखिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछिकै सबैभन्दा ठूलो मानिएको यो उडान अवरोधका कारण हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

यातायात मन्त्री डफीका अनुसार हवाई सेवा सुरु भए पनि उडान तालिकामा देखिएको अस्तव्यस्तता सामान्य अवस्थामा फर्किन केही समय लाग्नेछ । संघीय उड्डयन प्रशासन (एफएए) को आग्रहमा युरोपबाट अमेरिका आउने उडानहरूसमेत स्थगित गरिएका थिए ।

ह्वाइट हाउसका अधिकारीले दिएको जानकारीअनुसार एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा आएको समस्याका कारण उडान रोकिएको थियो । तर यसमा साइबर आक्रमण भएको कुनै प्रमाण छैन ।

उडान प्रतिबन्ध हटेसँगै डेल्टा एयरलाइन्सलगायतका प्रमुख अमेरिकी वायुसेवा कम्पनीहरूले सामाजिक सञ्जालमार्फत उडानहरू सुरक्षित रूपमा  सुरु गरिएको जानकारी दिएका छन् । हिजो देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो । त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा धेरै विमान उडिरहेका थिए ।

सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।

प्रकाशित मिति:
थप विश्व