नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

कोप ३१ सम्मेलनमा विश्वव्यापी जलवायु परिवर्तनबारे चिन्ता

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि जीवाश्म इन्धन अर्थात कोइला र पेट्रोलियम पदार्थको प्रयोग घटाउने र आर्थिक सहयोग बढाउने विषयले प्राथमिकता पाएको छ ।

गएको सोमबारदेखि टर्कीको अन्ताल्यामा शुरु भएको सम्मेलनमा विभिन्न देशका नेताहरूले जलवायु परिवर्तनविरुद्ध प्रतिबद्धता मात्रै नभई त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो तापक्रम, बाढी, तातो हावाको लहर र अन्य जलवायुजन्य विपद् नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्मेलनका क्रममा मिथेनलगायत अन्य शक्तिशाली हरितगृह ग्यास उत्सर्जन घटाउन ४८ करोड अमेरिकी डलरभन्दा बढीको नयाँ परोपकारी आर्थिक प्रतिबद्धता सार्वजनिक भएको छ । त्यस्तै, मिथेन उत्सर्जन न्यूनीकरणका लागि थप २ करोड ५० लाख अमेरिकी डलर सहयोग घोषणा गरिएको छ ।

सम्मेलनमा विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशले अनुकूलन, स्वच्छ ऊर्जा र विपद्पछिको पुनर्निर्माणका लागि विकसित देशबाट पर्याप्त आर्थिक सहयोग माग गरेका छन् ।

यसैबीच, सन् २०३५ सम्म विश्वव्यापी विद्युत् प्रयोगको हिस्सा ३५ प्रतिशत पुर्‍याउने प्रस्तावले पनि सम्मेलनमा चर्चा पाएको छ । तर, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा तेल तथा ग्यास उत्पादक देश र अन्य देशबीच मतभेद देखिएको छ ।

वैज्ञानिकहरूले विश्वको तापक्रम वृद्धि पेरिस सम्झौताले निर्धारण गरेको १ दशमलव ५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने जोखिम औँल्याइरहेका बेला सम्मेलनबाट ठोस निर्णय लिन दबाब बढेको छ ।

नोभेम्बर २० अर्थात आउँदो मंसिर ४ गतेसम्म चल्ने सम्मेलनमा जलवायु वित्त, उत्सर्जन कटौती र अनुकूलनसम्बन्धी विषयमा ठोस परिणाम आउने अपेक्षा छ ।   

प्रकाशित मिति:
थप विश्व