नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

सिङ्गापुरले दैनिक जीवनमा रोबोटको प्रयोग बढाउँदै

सिङ्गापुरले आफ्नो दैनिक जीवन र सार्वजनिक सेवामा रोबोट प्रविधिको प्रयोगलाई तीव्र रूपमा विस्तार गरेको छ । यातायात, विमानस्थल, आवासीय भवनदेखि सुरक्षा व्यवस्थासम्म रोबोटलाई मानिसको सहयोगीका रूपमा परिचालन गर्न लागेको हो ।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसामा सन् २०२७ को शुरूदेखि यात्रुहरूका लागि स्वचालित मिनीबस सेवा शुरू हुने भएको छ । राइड–हेलिङ एपमार्फत बुक गर्न सकिने आठ जना क्षमताका यी बसले चालकविहीन रूपमै यात्रुलाई विभिन्न पर्यटकीय स्थलसम्म पुर्‍याउनेछन् । अहिले सुरक्षाका लागि बसमा तालिमप्राप्त कर्मचारी राखिने भए पनि परीक्षण सफल भएपछि पूर्ण चालकविहीन सेवा सञ्चालन गर्ने सेन्टोसा विकास निगमका प्रमुख कार्यकारी अधिकृत थियेन क्वी एन्गलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसबाहेक सिङ्गापुरमा सामान ढुवानी, सरसफाइ र सुरक्षा गस्तीका लागि समेत स्वचालित रोबोटको प्रयोग भइरहेको छ ।

चाङ्गी विमानस्थलमा सरसफाइका लागि रोबोट प्रयोग भइरहेका छन् भने वृद्धवृद्धा बस्ने भवनहरूमा लिफ्टको प्रयोग गरी खाना र औषधि पुर्‍याउन रोबोट तैनाथ गरिएका छन् ।

त्यस्तै सार्वजनिक सुरक्षाका लागि सिङ्गापुरले होम टिम ह्युमनोइड रोबोटिक्स सेन्टर सञ्चालनमा ल्याएको छ । यस केन्द्रमा बम विस्फोट भएका ठाउँको अनुसन्धान, खतरनाक रसायन व्यवस्थापन र जेलभित्र प्रतिबन्धित वस्तु खोजीजस्ता जोखिमपूर्ण कामका लागि रोबोटलाई तालिम दिइँदैछ ।

सन् २०२८ सम्ममा सुरक्षाकर्मीसँगै वास्तविक कार्यक्षेत्रमा मानवरूपी रोबोट तैनाथ गर्ने सिङ्गापुरको योजना छ । सिङ्गापुर आर्थिक विकास बोर्डका अनुसार अहिले त्यहाँ अनुसन्धान र प्रविधि विकासमा तीन सयभन्दा धेरै रोबोटिक्स कम्पनी सक्रिय रहेका छन् ।

प्रकाशित मिति:
थप विश्व