नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

ट्रम्पको दाबी : इरानसँगको युद्ध ‘लगभग समाप्त’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः शुरू गर्ने आवश्यकता नरहेको बताउनुभएको छ । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग हिजो ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गर्नुभएको समाचार संस्था एपीले जनाएको छ ।

युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उहाँले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेका उल्लेख गर्नुभयो ।

आठ महिनादेखि चलिरहेको युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । मध्यावधि चुनावमा उहाँको रिपब्लिकन पार्टीले कंग्रेसको दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो ।

ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक सङ्केत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताउनुभयो । इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने निरन्तर रहने उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच कतारका अधिकारीहरूले गएको हप्ता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन् । इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने शर्त राख्दै आएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले युद्धसम्बन्धी आउँदो निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताउनुभएको छ । युद्ध शुरू गर्न कंग्रेसको अनुमति नलिएको भन्दै उहाँमाथि आलोचना भइरहेको छ । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले हिजो उहाँविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गर्नुभएको थियो ।

युद्ध अन्त्यको सङ्केत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमणलाई निरन्तरता दिएको छ । गएको हप्ता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुई पटक आक्रमण भएको थियो । अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिवार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व