नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

बङ्गलादेश फर्किन हसिनाद्वारा राहदानी र परिचयपत्र माग, सरकारद्वारा अस्वीकार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कनका लागि नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ ।

हसिनाले लन्डनमा रहेको ल फर्ममार्फत दिल्लीमा रहेको बङ्गलादेशी दूतावासमा औपचारिक पत्र पठाउनुभएको छ । तर बङ्गलादेशी सरकारले उहाँको यो अनुरोधलाई ठाडै अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले हसिनालाई आतङ्कवादी र फरार अभियुक्तको संज्ञा दिँदै सरकारले यस्ता व्यक्तिलाई राहदानी उपलब्ध नगराउने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आउँदो डिसेम्बरमा बङ्गलादेश फर्कने बताउँदै आउनुभएको छ ।

प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार घटनामा झन्डै १ हजार ४०० जनाको ज्यान गएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउनुभएको छ ।

हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गएको फेब्रुअरीमा भएको चुनावबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आउनुभएको छ ।

हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएका तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेका आरोप लगाउनुभएको छ ।

प्रकाशित मिति:
थप विश्व