नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

‘कायर’ भएको भन्दै डीआर कङ्गाेले ६६ सैनिकलाई मृत्युदण्डको सजाय सुनायो

लोकतान्त्रिक गणतन्त्र (डीआर) कङ्गोमा कम्तीमा ६६ जना सैनिकलाई कायरता, विद्रोह र आदेश पालना गर्न अस्वीकार गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

पूर्वी डीआर कङ्गोको नर्थ किभु प्रान्तमा रहेको सैनिक अदालतमा ७१ सैनिकमाथि गरिएको सुनुवाइपछि ६६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै चार जना सैनिकले सफाइ पाएका र अर्का एक सैनिकलाई १० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।

सेनाका अनुसार पूर्वी डीआर कङ्गोमा सशस्त्र समूहहरूसँग लडिरहेका सैनिकहरूमा अनुशासन सुधार्ने उद्देश्यले यो सजाय सुनाइएको हो ।

यो क्षेत्रले दशकौँसम्म द्वन्द्व झेलेको छ जहाँ सरकारी फौज र ’फ्रन्ट फर द रिफाउन्डेशन अफ द नेशन’ (एफआरएन) नामक विद्राही गठबन्धनबीच लडाइँ चलिरहेको छ । एफआरएनमा एम२३ समूह पनि समावेश छ ।

ती सैनिकहरूलाई गएको अक्टोबर २० मा वालिकालमा पक्राउ गरिएको बताइएको छ, उनीहरूमाथि एफआरएन लडाकुहरूसँगको झडपका बेला ठाउँ छोडेर भागेको आरोप लगाइएको थियो ।

सन् २०२४ को मार्चमा डीआर कङ्गोले सेनाभित्र देशद्रोहीहरू रहेका भन्दै उनीहरूलाई हटाउनुपर्ने आवश्यकता औँल्याउँदै मृत्युदण्डमाथि लगाइएको २० वर्षे रोक हटाएको थियो ।

सरकारले सशस्त्र समूहमा संलग्न व्यक्तिहरू, विद्रोहमा सामेल हुनेहरूका साथै देशद्रोह र युद्ध अपराध गर्नेहरूका हकमा पनि मृत्युदण्डको सजाय लागू हुने बताएको छ ।

मृत्युदण्डको सजाय पुनः लागू गर्ने निर्णयको अधिकारवादी समूहहरूले व्यापक आलोचना गरेका छन् । यद्यपि मृत्युदण्डमाथिको रोक हटाइएयता औपचारिक रूपमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

फ्रान्सेली प्रसारण संस्था ‘आरएफआई’ को तथ्याङ्कअनुसार सन् २०२५ को शुरुआतयता कम्तीमा ५०७ जना सैनिक दोषी ठहरिएका छन् जसमध्ये ३८१ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

प्रकाशित मिति:
थप विश्व