नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

अमेरिकाको मिसिमिपीमा डेमोक्रेटिक उम्मेदवारको ऐतिहासिक जीत

अमेरिकाको मिसिसिपी राज्यमा डेमोक्रेटिक उम्मेदवार स्कट कोलोमले सिनेट चुनाव जित्नुभएको छ । दशकौँदेखि रिपब्लिकन उम्मेदवारहरूले चुनाव जित्दै आएका राज्यमा ४३ वर्षीय कोलोमको जीत डेमोक्रेटिकका लागि ठूलो उपलब्धि हो ।

कोलोम १४० वर्षयता मिसिसिपीबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत सिनेटर बन्नुभएको छ ।

उहाँले बहालवाला रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई केही हजार मतको अन्तरले पराजित गर्नुभयो । कोलोमले ४ लाख ७३ हजार ३३६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी स्मिथले ४ लाख ६८ हजार ६६७ मत ल्याउनुभयो ।

यस नतिजासँगै १०० सदस्यीय सिनेटमा डेमोक्रेटिकको ५५ सिट पुगेको छ । अलास्कामा भएको कडा प्रतिस्पर्धाको नतिजा भने अझै घोषणा हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

यो नतिजाले मिसिसिपीमा सन् १९८२ देखि कायम रहेको रिपब्लिकन पार्टीको जितको शृङ्खला तोडेको छ । सन् २०२४ को चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यस राज्यमा २२ प्रतिशतभन्दा धेरै मतान्तरले जीत हासिल गर्नुभएको थियो ।

यसैबीच भर्खरै भएको मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले हाउस र सिनेट दुवैमा नियन्त्रण हासिल गर्दै ठूला सफलता प्राप्त गरेको छ । पार्टीले टेक्सास, साउथ क्यारोलिन र कन्सास जस्ता रिपब्लिकनका सुरक्षित मानिने क्षेत्रहरूमा समेत चुनाव जित्यो ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा देशको अर्थतन्त्र र इरानसँगको युद्धप्रतिको जनअसन्तुष्टि नै यस चुनावी परिणामको मुख्य कारण रहेको जनमत सर्वेक्षणहरूले देखाएका छन् ।

प्रकाशित मिति:
थप विश्व