नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

मिसिसिपी नदीमा ट्याङ्कर जहाज र क्रुज जहाज ठोक्कियो, सबै यात्रुहरू सुरक्षित

अमेरिकाको न्यू अर्लिन्समा रहेको मिसिसिपी नदीमा एउटा ठूलो ट्याङ्कर जहाजले किनारामा रोकिएको क्रुज जहाजलाई ठक्कर दिएको छ ।

ठक्करबाट क्रुज जहाज पल्टिएको छ । तर जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यको सकुशल उद्धार गरिएको घटनालगत्तै खटिएको उद्धार टोलीले जनाएको छ ।

बीबीसीकाअनुसार यो घटनामा सबैलाई सकुशल उद्धार गरिएकोमा उद्धारकर्ताले चमत्कार भएको बताएका छन् । अमेरिकन क्रुज लाइन्सद्वारा सञ्चालित क्रुज जहाज यात्रुहरू ओराल्नका लागि दुर्घटना हुनुभन्दा झण्डै दुई घण्टाअघि मात्र किनारामा रोकिएको थियो ।

ट्याङ्कर जहाजको ठक्कर लगत्तै क्रुज जहाजमा पानी पस्न थाल्यो र यात्रुहरू ओर्लने क्रममै जहाज एकातिर कोल्टे परेर नदीमा पल्टिएको थियो । उद्धारका बेला क्रुज जहाजमा झण्डै १२९ यात्रु र चालक दलका सदस्य थिए । जहाज पल्टिएपछि धेरै यात्रुहरू लाइफ ज्याकेट लगाएर नदीमा खसेका थिए ।

अमेरिकी कोस्ट गार्ड, बन्दरगाह प्रहरी, दमकल र नजिकै रहेका अन्य डुङ्गाको मद्दतले सबैको उद्धार गरिएको छ । न्यू अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार कोही पनि बेपत्ता छैनन् र कसैको ज्यान गएको छैन ।

घाइते भएका ३२ जना यात्रु र उद्धारका क्रममा घाइते भएका २ जना प्रहरी अधिकारीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ट्याङ्करले आफ्नो नियन्त्रण गुमाएका कारण रोकिएको क्रुज जहाजलाई ठक्कर दिन पुगेको प्रारम्भिक अनुमान छ ।

न्यू अर्लिन्स अमेरिकाको लुइजियाना राज्यमा अवस्थित शहर हो । यो मिसिसिपी नदीको किनारमा रहेको छ ।

प्रकाशित मिति:
थप विश्व